वीरगंज, ५ असोज । संघीयता कार्यन्वयनको एक चरण सकेर दोस्रो चरण चलिरहेको ढाई वर्ष हुन लाग्यो । आम नागरिकको प्रत्यक्ष जीवनसंग जोडिएको विकास निर्माणका कार्यहरु आफै कानून बनाएर गर्ने अधिकार प्राप्त स्थानीय तहबाट हुने कार्य सम्पदानमा विकास संग–संगै भ्रष्टाचार र अनियमितताका चाङ पनि थुप्रिएको जनगुनासो बढ्दो छ । यिनै विषय बस्तु सहित कलैया उपमहानगरमा हुँदै आएको विकास निर्माणको काम लगायतको विषयमा केन्द्रित रही प्रमु्ख प्रशासकीय अधिकृत नाथु साहसंग राष्ट्रिय फण्डा को लागि अमिर मन्सुरी ले गरेको कुराकानीको सम्पादिन अंश जस्ताको त्यस्तैः
कलैया उपमहानगरपालिकाको विकास निर्माणको काम कसरी अगाडी बढ्दै छ ?
नीति, कार्यक्रम र बजेट अनुसार समग्र क्षेत्रको विकास निर्माणको काम अगाडी बढ्दै छ । नगरपालिकाको केही ठुला योजना जस्तै नगरपालिकाको प्रशासनिक भवन निर्माण, टाउन हल निर्माण, कलैया हाट बजार, छटिया पोखरिया निर्माण लगायत विभिन्न ठुला योजनाहरुको काम भईरहेको छ । यस बाहेक पनि प्रत्येक वडामा त्यहाँको आवश्यकता अनुसारको अन्य योगनाहरु पनि कार्यन्वयनमा छ ।
उपमहानगर भएपछि ग्रामिण भेगका अधिकांश गाउँहरु यसमा समेटियो । जहाँ सडकको अवस्था एकदमै दैनिय थियो । तर अहिले अधिकांश वडाहरु पिच सडकको संजालबाट जोडिसकेको छ । केही सिमित वडाहरुमा बिच बाटो पुग्न सकेको छैन् । जुन क्रमशः भईरहेको कामले दुई/तीन वर्ष भित्र त्यहाँ पनि पिच बाटो पुग्ने छ । पिच र सडक ढलान गर्ने काम निरन्तर चलिरहेको छ ।
जनचाहना अनुसार विकास निर्माणको काम खासै भईरहेको छैन भने जनगुनासो छ नि ?
जनताको आकांक्षा धेरै हुन्छ तर हामी कहाँ स्रोत साधन भने सिमित छ । त्यही स्रोत साधन भित्र रहेर आवश्यकता अनुसारका आकांक्षाहरु प्राथमिकतामा राखेर सम्बोधन गर्नुपर्ने हुन्छ । त्यही प्राथमिकता अनुसार नगरसभाले सम्बोधन गरेको नीति, योजनालाई कार्यन्वयन गर्दै गईरहेका छौं । सिमित स्रोत साधनको कारणले गर्दा सबैको इच्छा आकांक्षा सम्बोधन गर्न सकिदैन् । तर पनि आवश्यकता अनुसारको मागलाई क्रमशः सम्बोधन गर्दै काम भईरहेको छ ।
पहिलेको भन्दा अहिले शिक्षा र स्वस्थ्यको क्षेत्रमा के कस्तो उपलब्धी भएको छ ?
शिक्षा र स्वास्थ्यको क्षेत्रमा नगरपालिकाभित्र राम्रै सुधार भएको छ । खास गरि भएका विद्यालयहरुमध्ये केही नमूना विद्यालयहरु पनि छन्, जस्तै दुर्गा उच्च मा.वि., त्रिचन्द्र उ्रच्च मा.वि. लगायतका विद्यालयमा राष्ट्रिय स्तरका पठनपाठन हुँदैछ । अन्य विद्यायलयहरुमा पनि गुणस्तरीय शिक्षाको लागि विद्यालय व्यवस्थापन समिति, अनुगमन समिति लगायत निरन्तर खटेर सुधार गर्ने गरेको छ । तसर्थः अन्य विद्यालयहरुलाई पनि राष्ट्रिय स्तरको विद्यालय सरह पठनपाठनको व्यवस्थापन गर्न लागेका छौं ।
आधुनिक शिक्षाको लागि के कस्तो थप नीति परिमार्जन गरि कार्यन्वयन गरिएको छ ?
गुणस्तरीय शिक्षाका लागि सामान्य र प्राविधिक धारका समेत कक्षाहरु संचालन हुँदै आएको छ । विधार्थीको आवश्यकता र चाहना अनुसार कुन विषयमा प्राविधिक शिक्षा पढ्ने हो ? त्यो अनुसार विषय छनौट गरि कलैया उपमहानगर अन्तर्गत रहेका विभिन्न विद्यालयहरुमा सामान्य कक्षा सहित प्राविधिक कक्षा पनि संचालन हुँदै आएको छ ।
प्रायः पालिकाको विद्यालयहरुमा दिवा खाजा कागजमै संचालन गरि विद्यालयका जिम्मेवार पदाधिकारीहरुले लाखौं रुपैयाँ अनियमितता गर्ने गरेको आरोप छन् ? त्यस्तो कार्य कलैया उपमहानगरमा हुन नदिन यहाँले कसरी निगरानी गर्नुभएको छ ?
कलैया उपमहानगरको शिक्षा शाखा अन्तर्गत भएको अनुगमन समितिमा आवद्ध अवकास प्राप्त एक जना प्रधानाध्यापक विद्यालय संचालन हुने प्रत्येक दिन सबै विद्यालयमा क्रमशः अनुगमन गर्नुहुन्छ । खाजा लगायत विद्यालयको अन्य गतिविधिमा अनुगमन गर्नुहुन्छ । खासगरि बालबालिकाहरुको खाजामा अलिकति पनि लापर्बाही गरेको बरदास गरेका छैनौं । कतिपय शिक्षकलाई खाजामा खराब चन्ना खुवाईएको अवस्था जरिवाना समेत गरेका छौं । गुनासो आएको खण्डमा तत्कालै संज्ञान लिई दोषी ठहरिएमा कारबाही समेत गरेका छौं ।
जिल्लाको सदरमुकाम रहेको यस उपमहानगर अन्तर्गतका अधिकांश मानिसको पेशा नै कुषि कर्म रहेको छ ? अहिलेको आधुनिक समयमा कृषकले कम लगानीमा बढी उत्पादन गर्न सक्ने के कस्तो योजनाहरु कार्यन्वयन गरिएको छ ?
किसानहरुलाई उन्नत जातको बिउ ल्याएर अनुदानमा वितरण गरिरहेका छौं । किसानका लागि उन्नत जातका धान, गहुँको बिऊ लगायत विभिन्न मेसिनरी औजार दिईएको छ । तरकारी बाली उत्पादनको लागी जैविक खाद्य, विषादी राख्न विभिन्न सचेतना मुलक कार्यक्रम संचालन गरिएको छ । तसर्थः कृषि कर्मका लागी आवश्यक पर्ने आधुनिक प्रविधि सहित उन्नत जातको बिउ, बिजन, मल खाद्य आदी स्रोत साधन उपलब्ध गराउँदै आईएको छ ।
कलैयामा यस उपमहानगरको लगानीले बन्न लागेको कुषि बजारले यस यस क्षेत्रको उत्पादनलाई कतिको टेवा पुग्छ ?
कलैयामा एउटा पुरानो हाट बजार छ तर अर्काे एउटा नयाँ कृषि बजार पनि निर्माणको चरणमा रहेको छ । दुबै बजारले यहाँको कृषिको विकासको लागि धेरै योग्दान गदैै आएको छ । बजारमा साप्ताहिक दुईदिन खसी बजार पनि लाग्छ, जहाँ खसी बेचेर यहाँका किसानले राम्रो आम्दनी गर्छन् । त्यस्तै, हाट बजारमा ग्रामिण भेगको विभिन्न ठाउँबाट ल्याईएका तरकारी बाली बेच्दा काठमाण्डौं लगायत अन्य सहरमा पुग्ने हुँदा किसानहरुले आर्थिक लाभ लिईरहेका छन् ।
कानून निर्माणको हिसाबले कलैया उपमहानगरको अवस्था कस्तो छ ?
चाहिने जतिको आवश्यक कानूनहरु बनाईसकेका छौं । बनाईएको कानून समग्रमा प्रकाशन पनि गरिएको छ । आवश्यकता अनुसार कानून निर्माण गर्दै विकासका काम अगाडी बढाईएको छ । आर्थिक ऐन, विनियोजन ऐन, शिक्षा, स्वास्थ्य, कृषि लगायत आवश्यक पर्ने हरेक ऐन बनाईएको छ ।
आन्तरिक सुशासनको हकमा कलैया उपमहानगरले कमीकमजोरी गरिरहेको भन्ने गुनासोहरु छन् ? विशेष गरि खरिद कार्य, ठेक्का पट्टा लगायतमा कानुन विपरितका कार्य, मेयरसंग बेमेल जस्ता टिप्पणीहरु आईरहेका छन्, ती विषयहरु सत्य नै हुन् ?
हामीले सानो ठेक्का पनि ई–बिडिङ्गबाट गर्ने गरेका छौ । २०/२५ लाखको ठेक्का पनि ई–बिडिङ्गबाट नै गर्ने गरेका छौ, जुन राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरबाट पनि हेर्न सकिन्छ । त्यसकारण कलैया उपमहानगरपालिका अन्य पालिका भन्दा खरिद कार्यमा पारदर्शिता छ भन्ने ठोकुवा गर्न चाहन्छु । खुद्रे–खाद्रे बाहेक सबै खरिद कार्य ई–बिडिङ्गबाट नै हुन्छ । त्यसकारण यसमा टिप्पणी गर्नुपर्ने ठाउँ देखिदैन् ।
कलैया उपमहानगरको सम्भावना र चुनौती के छन् ?
२७ वटा वडामध्ये झण्डै १८ वटा वडा कृषि क्षेत्रमा पर्छन् । यी वडाहरुमा कृषि र पुशपाललनको धेरै सम्भावना छन् । यहाँ भएका सम्भावनाहरुलाई कसरी बढी भन्दा बढी उपयोग गरेर यस क्षेत्रको विकास गर्न सकिन्छ भन्ने तर्फ अग्रसर छौं । बाराको सदरमुकाम कलैया भएकोले यहाँका विद्यालयहरुलाई राष्ट्रिय स्तरका विद्यालय सरह संचालन गर्न सक्यौं भने अन्य पालिकाका विधार्थीहरुलाई पनि यहाँ आकर्षण गरेर यहाँको व्यापार व्यवसायमा टेवा पु¥याउन सकिन्छ ।
कलैया उपमहनगरले विगतको दिनमा के कतिको आम्दनी गरेको छ ? राजस्व लक्ष्य कसरी पुरा गर्छ ?
गत वर्ष करिब १० करोडको हराहरीमा राजस्व संकलन गरेका थियौं । त्यो भन्दा अघिल्लो आर्थिक वर्षमा करिब ९० प्रतिशत राजस्व संकलन गरेका थियौं । पहिले भन्दा राजस्व संकलनमा सुधार आएको छ । राजस्वमा अलिकति पनि तलमाथि वा लापर्वाही नगर्न नगरपालिका कार्यालय र विभिन्न वडा कार्यालयहरुलाई निर्देशन नै दिईएको छ । समय–समयमा मेयर साहेब सहित म आफै पनि र राजस्व शाखाबाट अनु्गमन पनि हुन्छ । त्यसकारण कही पनि राजस्व हिनामिना हुँदैन र न कहि हिनामिना हुने ठाउँ नै छ ।
चालु आर्थिक वर्षमा उपमहानगरको स्रोतको अवस्था कस्तो छ ? योजना कार्यन्वयन हुने अवस्था कस्तो रहन्छ ?
पहिलेदेखी नै दायित्व सृजना भएर आईरहेको छ । यो वर्ष झन ठुलो दायित्व सृजना भएको छ । नेपाल सरकारबाट समय–समयमा समानिकरण अनुदान र राजस्व बाँडफाँडबाट पाउनु पर्ने रकमहरु भने अनुसार, बजेटमा प्रतिवद्धता गरे अनुसार हुँदैन् । जसले गर्दा दायित्व बढ्दै गईरहेको छ । तर पनि छनौट भएका योजनाहरु शत प्रतिशत कार्यन्वयन होस् भने हामी चान्छौं । स्रोत साधनको सुनिश्चितता गरि संघीय सरकार तथा प्रदेश सरकारबाट आउने बजेटलाई प्राथमिकता दिई अति आवश्यकका काम तुरुन्तै गर्छाै । बाँकीको योजना क्रमशः कार्यन्वयन हुँदै जान्छ ।
के कस्तो योजनालाई प्राथमिकता दिएर नगर सभा गरिएको छ ?
सडक ढलान, सडक निर्माण, नाला निर्माण, आय आर्जन, शिक्षा, स्वास्थ्य, कृषि, पशु लगायतको क्षेत्रलाई प्राथमिकता दिएर नगर सभा गरिएको छ । बजेट अनुसार यी क्षेत्रमा क्रमशः काम अगाडी बढ्दै जाने छ ।
बेरोजगार युवा तथा महिलाहरुलाई रोजगारी सृजनाको लागि यहाँले के कस्तो योजना ल्याएर कार्यन्वयन गर्नु भएको छ ?
युवाहरुलाई रोजगार प्रवद्र्धन गर्न पशु पालन, कृषि सहित अन्य विभिन्न सिप मुलक तालिम, कार्यक्रम संचालन गरि रोजगारको क्षेत्रमा लगाईएको छ । विभिन्न विपन्न वर्गलाई पनि पशुपालन, बाख्रा पालन लगायतमा लगाएर आय आर्जन गर्ने काम गरिएको छ । कृषिमा अनुदान दिएर विभिन्न किसिमका आधुनिक उपकरण दिएर आय आर्जन गर्ने कार्यमा समावेश गरेका छौं ।
ट्राफिक व्यवस्थापन र फोहोरमैला व्यवस्थापनको लागि कलैया उपमहानगरले के पहल गरेको छ ?
ट्राफिक व्यवस्थापनको लागि हाम्रा नगर प्रहरी हुनुहुन्छ । नगर प्रहरी र यहाँको ट्राफिक प्रहरीको समन्वयमा विभिन्न्न ठाउँहरु वन वे गरेका छौं । ट्राफिक व्यवस्थापनको व्यवस्था मिलाएका छौं । जसले गर्दा पहिले भन्दा अहिले केही सुधार भएको छ । फोहोर व्यवस्थापनका लागि नगरपालिकाको वातावरण शाखाले स्वीपरहरुलाई खटाएर सरसफाईका गाडीहरु मार्फत फोहोर मैला व्यवस्थापन गर्दै आएको छ । ल्याण्डफिड साईड नभएकोले पूर्ण रुपमा सरसफाई व्यवस्थापन हुन सकिरहेको छैन् । चालु आर्थिक वर्षमा एसियाली विकास बैंकको साझेदारीमा ल्याण्डफिड साईडको योजना अगाडी बढ्छ । ल्याण्डफिड साईडको योजना अगाडी बढेपछि यहाँको फोहोर मैला व्यवस्थापनमा ठुलो टेवा पुग्छ भन्ने विश्वास छ ।
आन्तरिक तथा बाह्य पर्यटनको आकर्षणको केन्द्र बन्न सक्ने यस उपमहानगरमा के कस्तो सम्भावना छ ? त्यसको संरक्षण र सम्बद्र्धनको लागि के के गरिएको छ ?
यो नगरपालिकामा पर्यटन विकासको सम्भावना छ । किन भने विश्व प्रसिद्ध गढिमाईको मन्दिर कलैयाकै बाटो भएर जाने भएकोले बाहिरबाट आउने अधिकांश पर्यटकहरुलाई कसरी यहाँ दुई/चार दिन बसाउन सकिन्छ । त्यस्तो योजना बनाउन सकियो भने कलैयालाई आन्तरिक तथा बाह्य पर्यटनको हब बनाउन सकिन्छ । जस अनुसार हामीले योजना पनि बनाएका छौं । मधेश कला केन्द्र सङग्रहालय निर्माण गर्ने योजना बनाएका छन् । जसमा मधेशका कला कृतिहरु, मधेशका विभिन्न चरणका विकासहरु समेटेर योजना अगाडी बढ्छ ।
स्रोत साधनको अभावका कारण त्यो योजना अगाडी बढ्न सकेको छैन् । निकट भविष्यमा संघ सरकार र प्रदेश सरकारसंग कुरा गरिरहेका छौं । विभिन्न दातृ निकायले पनि यसको लागि पहल गरिरहेको छ । भयो भने त्यो योजना अगाडी बढ्छ । जसले पर्यटन विकासमा पनि मदन गर्छ । त्यो संग–संगै रामजान्की मन्दिर, सिद्धिश्वर मन्दिर जुन जिल्लामै प्रख्यात मन्दिरहरु छन्, त्यहाँ पनि स्थानीय पर्यटकहरु आउनु हुन्छ । त्यहाँ अझै कसरी पर्यटकहरुको आकर्षणको केन्द्र बनाउन सकिन्छ भने तर्फ नगरपालिका काम गर्दैछ ।