राधेश्याम साह रौतहट, ७ फागुन । १२औ जिल्ला स्तरीय महिला साइकल दौड प्रतियोगिता रौतहटको सदरमुकाम गौरमा सम्पन्न भएको छ । प्रजातन्त्र दिवसको अवसरमा राजदेवी मिडिया सेन्टरले आयोजना गरेका १२औ जिल्ला स्तरीय महिला साइकल दौड प्रतियोगितामा १८ वटै पालिकाका १५ जना महिला खेलाडीहरु सहभागी रहेका थिए । कार्यक्रमको प्रमुख अतिथि मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलले उदघाटन गर्दै महिलाहरूको खेलकुद क्षेत्रमा बढ्दो सक्रियता प्रशंसनीय रहेको बताए । उनले महिलालाई यस्ता प्रतियोगितामा सहभागी प्रतियोगिमा आत्मनिर्भर र आत्मविश्वासी बनाउने कार्य गरेकोमा आयोजकलाई धन्यवाद व्यक्त गरे । प्रतिस्पर्धामा १५ जना सहभागीहरुलाई सम्मानपत्र सहित साइकल पुरस्कार दिइएको संयोजक रामपुकार राउतले जानकारी दिए । प्रथम स्थानमा राजदेवी नगरपालिकाकी रानी कुमारी यादव, दोस्रो स्थानमा सन्जनी कुमारी यादव र तेस्रो स्थानमा रबिना साहले क्रमशः गियर साइकल, लेडिज साइकल र सानो साइकल पुरस्कार प्राप्त गरेका छन् । त्यसैगरी प्रतिस्पर्धामा सहभागी रौशनी कुमारी यादव, पिंकी कुमारी, प्रियंका पण्डित, सिमरन जैसवाल, श्रिष्मा रानी पटेल, नुतन कुमारी राम, निकि कुमारी पासवान, मोनिका कुमारी साह, अलका कुमारी साह, मिथलेश कुमारी, सलोनी दास, रानी कुमारी यादव,रितु कुमारी पटेलले उत्कृष्ट प्रदर्शन गरेका छन् । आयोजक संस्थाका अध्यक्ष रामपुकार पटेलले हरेक वर्ष हँुदै आएको यस प्रतियोगिताले महिलाहरूमा खेलको जिज्ञासामा वृद्धि, चासो, उत्साहबढ्दै गएको र यस वर्ष पहिलो चरणको खेलमा जिल्ला भरीबाट १०५ जना महिला प्रतिस्पर्धीले भाग लिएको जानकारी गराए । प्रतियोगिताको निर्णायक चरणमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीमा प्रथम हुनेलाई पचास हजार, दोश्रो हुनेलाई तीस हजार, र तेस्रो हुनेलाई बीस हजार रकमको पुरस्कार सहित १–१ वटा साइकल लगायतका सम्मान पत्र सहितका पुरष्कार वितरण गरिएको थियो । कार्यक्रममा मधेस प्रदेशका सभा सदस्य मा. नागेन्द्र साह, नेपाल पत्रकार महासंघ शाखा रौतहटको पुर्व अध्यक्ष रविन्द्र प्रसाद साह, महासंघ शाखा रौतहटको पुर्व अध्यक्ष प्रेमचन्द्र झा, पत्रकार सन्तोष पौडेल, राकेश यादव, कृष्ण तिवारी, धर्मेन्द्र साह, युवा नेता ओमप्रकाश साह मधेसियालगायतको उपस्थिति रहेको थियो।
प्रतिक्रिया लेख्नुहोस्