बैशाख, ७ वीरगंज । पर्साको बहुदरमाई नगरपालिका विकासमा फड्को मारेको छ । घाम लागेका बेला धुलाम्ये र वर्षामा हिलाम्ये हुने सडक कालोपत्र (पिच) र ढलान भएका छन् ।
संघीयता कार्यन्वयनको दोस्रो चरणको निर्वाचनको बेला बहुदरमाई नगरपालिकाको मेयरमा चुनिएका सिंगासन साह तेलीले नगर विकासको लागि मुख्य सडक संजाललाई कालोपत्र तथा ढलानसंग जोड्दा नगरपालिकाको मुहार नै फेरिएको छ । नगरपालिकाका मुख्य सडकदेखी सहायक सडकहरुमा कालोपत्र ढलान तथा नाला निर्माणको काम तिब्र गतिले भईरहेको पालिकाले जनाएको छ ।
निर्वाचनको बेला जनतासंग गरेको प्रतिवद्धता अनुसार बिश्रामपुर गाउँदेखी भौराटार हुँदै डोकैलासम्म कालोपत्र सडक निर्माण भईरहेको नगर प्रमुख सिंगासन साहले बताए ।
जनताका हरेक आवश्यकता यस पालिकाबाट प्राप्त हुने गरी स्वायत्तताको उच्चतम अभ्यास तथा विकेन्द्रीकरणको माध्यमद्वारा स्थानीय शासनमा सक्रिय सहभागिता जनाउँदै मेयर साहले विकास निर्माणका प्रक्रियालाई छिटोछरितो रुपमा जनसरोकारलाई सम्बोधन गर्ने लक्ष्य अनुसार ढलान तथा कालोपत्र सडक तथा नाला निर्माण गराएपछि सडक सञ्जालले फड्को मारेको छ ।
पालिकाले गरेको सडक तथा नाला निर्माणले स्थानीयलाई निकै सहज भएको छ । सडकमा धुलो र हिलो छल्दै हिड्नुपर्ने बाध्यता हटेको वडा नम्बर ९ का बृजेश यादव बताउँछन् । सडक बनेसंगै अटो चालकमात्र नभई विद्यालय जाने बालबालिका, खेति किसानी गर्ने कृषक, महिला तथा यस भेगका जनताले सुविधा पाएका छन् ।
घरबाट निस्कन समेत गाह्रो भएको वडा नम्बर ६ गम्हरियामा समेत पक्की सडक निर्माण कार्य सम्पन्न भईसकेको मेयर साहले बताए । नगरबासीलाई आफ्नो गाउँ ठाउँ मै प्रभावकारी स्वास्थ्य सुविधाका लागी पालिकाको वडा नं. ४, ६ र ७ मा बर्थिङ्ग सेन्टरको स्थापना गरि सेवा सूचारु गरिएको बताए ।
आउँदो आर्थिक वर्षमा डकैला चोकदेखि बरवा दलितबस्ती हुदैँ भैराटार पटनी जोड्ने सडकमा नाला तथा पिच निर्माण गर्ने हाम्रो योजना रहने मेयर साहले बताए ।