वीरगंज १४ चैत । पर्साकाे बहुदरमाई नगरपालिकाका मेयर सिगांसन साह तेलीले निःशुल्क लाेक सेवा आयोगको तयारी कक्षा सञ्चालन गर्न लागेका छन् । आर्थिक वर्ष २०८१/८२ को नगर स्तरीय योजना अन्तर्गत खरिदार र नायव सुव्वा तहको पहिलो पत्र तयारीका लागि निःशुल्क कक्षा सञ्चालन गरिने नगर प्रमुख सिंगासन साह तेलीले जानकारी दिएका छन् ।
मेयर तेलीका अनुसार गरिब, निमुखा तथा नगर क्षेत्रभित्रका इच्छुक विद्यार्थीहरूले लोक सेवा तयारीमा सहभागी भई सरकारी जागिरका लागि ‘फलामे ढोका’ मानिने परीक्षामा प्रतिस्पर्धी बन्ने अवसर पाउनेछन् । चुनावका बेला नागरिकलाई गरेको प्रतिवद्धताअनुसार निःशुल्क तयारी कक्षा सञ्चालन गर्न लागेको उनले बताए ।
नगरपालिकाले सूचना प्रकाशित गर्दै इच्छुक व्यक्तिहरूलाई चैत्र २० गतेभित्र आवेदन दिन आह्वान गरेको छ । कक्षाका लागि ६० जनाको सिट व्यवस्था गरिएको पालिकाले जनाएको छ ।
खरिदार पदका लागि कम्तीमा कक्षा १० उत्तीर्ण र नायव सुव्वा पदका लागि कक्षा १२ उत्तीर्ण योग्यता अनिवार्य गरिएको छ । आवेदन दिने इच्छुकले शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि र नेपाली नागरिकताको प्रतिलिपि लिएर शिक्षा शाखामा सम्पर्क गर्न नगरपालिकाले आग्रह गरेको छ ।
आवेदन संख्या निर्धारण सिट संख्याभन्दा बढी भएमा समान्य परीक्षामार्फत उच्चतम अंक ल्याउने ६० जनालाई छनोट गरिने प्रमुख प्रशासकीय अधिकृत रामविनय कुमार सिंहले बताए ।